वीरगञ्ज असोज १७ गते ।

शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभाको अवसरमा वीरगञ्जमा आयोजित खुला रक्तदान कार्यक्रममा २ महिलासहित १०६ जनाले रक्तदान गरेका छन्।

वीरगञ्जस्थित नगरसभा गृह (टाउनहल)मा आयोजित रक्तदान कार्यक्रम सहकारी संस्थाका अध्यक्ष शिवजी प्रसाद कलवारको अध्यक्षतामा सम्पन्न भएको हो।

“रक्तदान जीवनदान हो” भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा अध्यक्ष कलवारले रक्तदान गरी मानवीय सेवामा योगदान पुर्‍याउन सर्वसाधारणलाई आग्रह गरेका थिए।

सहकारीले “थोरै रक्त, धेरै जीवन” भन्ने नाराका साथ आयोजना गरेको रक्तदान कार्यक्रममार्फत रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्य राखिएको जनाएको छ।

कार्यक्रममा शिवम् बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।