पर्सा — सशस्त्र प्रहरी बलले पर्साका विभिन्न स्थान र सीमा क्षेत्रबाट ४४ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ । यस्तै, तिहार तथा छठलाई लक्षित गरी भारतबाट अवैध रूपमा भित्र्याइएका ३ लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटाका पनि नियन्त्रणमा लिएर नष्ट गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका अनुसार आइतबार जिल्लाका विभिन्न स्थानीय तह तथा सीमा क्षेत्रबाट खटिएका टोलीले भन्सार छली गरी ल्याइएका कपडा, कस्मेटिक, किराना सामान, मोबाइल पार्टपुर्जा, औषधि, मोटर पार्टस्‌लगायत सामग्री बरामद गरेको हो । प्रहरीका अनुसार बरामद ७ लाख १० हजार ५२० रुपैयाँ बराबरको कपडा, कस्मेटिक तथा किराना सामान भन्सार छली गरी विभिन्न सवारी साधनमा लोड गरेर नेपालतर्फ ल्याइँदै थियो ।

यसैगरी, शुक्रबार बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठ्ठास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले बा६३प ६८१५ नम्बरको मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको १८ लाख ४१ हजार ५०० रुपैयाँ बराबरको मोबाइल पार्टपुर्जा बरामद गरेको थियो । सोही बीओपीको अर्को टोलीले ५९ हजार ४० रुपैयाँ बराबरको कपडा तथा मोटर पार्टस् पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।वीरगन्ज महानगरपालिका–२५ खल्वास्थित बीओपी ड्राईपोर्टबाट खटिएको पैदल गस्ती टोलीले शनिबार सीमा क्षेत्रको धानखेतमा बेवारिसे अवस्थामा राखिएको ८ लाख १७ हजार ६८० रुपैयाँ बराबरको विभिन्न प्रकारका औषधि तथा अन्य सामान फेला पारेको थियो ।

त्यस्तै, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले विभिन्न मितिमा ३ लाख ५ हजार ६२० रुपैयाँ बराबरका खरबुजाका बीउ, तोरी तथा कपडा बरामद गरेको छ । सीमा सुरक्षा गुल्म वीरगन्नको टोलीले एक लाख ८४ हजार रुपैयाँ बराबरका कपडा तथा विद्युतीय सामग्री र बीओपी सिर्सियाबाट परिचालित टोलीले २ लाख १६ हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि आइतबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए ।