सुन्दर जिन्दगीहरू कसरी ‘वसन्तप्रकाश’ बन्छन् ? कोही किन ‘बेवारिसे लाश’ बनिरहन्छन् ?

वरिष्ठ पत्रकार वसन्तप्रकाश उपाध्याय भदौ १७ गते (हिजो) स्मृतिशेष हुनुभयो । बेवारिसे अवस्थामा बारा, जितपुरको सडकबाट ‘उठाइनुभयो’ । कसैले ‘यो त्यही वसन्तप्रकाश हो’ भन्ने ठम्याएनन् । जति बेला ठम्मियो, उहाँ अस्पतालको शैय्यामा लमतन्न लाश भएर लड्नुभएको थियो । यता हामी श्रद्धाञ्जलीका शब्द बुन्न हतारियौँ । त्यो चेतना शून्य एउटा पार्थिव शरीर सम्भवतः आजभोलि आगोको लप्कासँगै विलीन हुँदै छ । भोलिदेखि हाम्रा कलमले शायदै ‘वसन्तप्रकाश’ लेख्ला ।
थाहा छैन, आफ्नै मृत्यु कस्तो हुन्छ ? यो पनि थाहा छैन कि, आफू मरेपछि कसैले जीवनकालका यादहरूलाई न्याय दिने गरी श्रद्धाका शब्द खर्चेलान्–नखर्चेलान् ? यस्ता पनि मान्छे हामी वरपर छन्, जो आफूचाहिँ कहिल्यै मर्नु पर्दैन भन्ठान्छन् । र, मृत्युपछि कसैको सम्झना गर्दा पनि पैसा नै परेजस्तो गर्ने गरेका छन् । केवल वसन्त प्रकाशप्रति श्रद्धाञ्जली, स्मृति वा उहाँका व्याख्यानका निम्ति यी पङ्क्ति लेखिएका हैनन् । एउटा मान्छेको जीवन बाँच्नका लागि नपुग्दो केही नहुँदा पनि जीवन कसरी ‘बेवारिसे मृत्यु’ मा पुगेर टुङ्गिन्छ ? उहाँको व्यक्तित्व, कृतित्व र पीडाहरू यो समाजले बुझ्नुपर्छ, सिक्नुपर्छ ।
अहिले रसुवा बाढीको वितण्डाले कैयौँको जीवन त्यसरी बगरतिरै चाङ लागेर बेवारिस बनाइन्छ भन्ने कुरा जीवन गुमाइरहेका ती कसैले सोचेका थिएनन् । हामी पो बाँचेका छौँ र हेरिरहेका छौँ । सोचौँ त, हामी नै परेको भए…? वसन्त दाइले जुन किसिमको मृत्यु व्यहोर्नुपर्यो, त्यो देखेर कोही–कसैले ‘मचाहिँ त्यसरी मर्दिनँ’ नभने हुन्छ । त्यसो त मृत्यु कसैले चाहँदैन, चाहनेले पनि चाहेजस्ता मरण हत्तपत्त पाउँदैनन् ।
केही निकटस्थको मृत्युका साक्षी वसन्त दाइ र म सँगसँगै भएका थियौँ (अरू साथी पनि साक्षी थिए) । पत्रकारिताको खेलकुद विधामा जम्नुभएका, गीतकार समेत रहनुभएका श्रीविक्रम राणा दाइ हुनुहुन्थ्यो । बबरमहलको सडकमा नगरपालिकाले ‘बेवारिसे लाश’ उठाउँदा उहाँ पनि उठाइनुभयो । खोजेर कतै नभेटेपछि वीर अस्पतालको मूर्दाघरमा भेटियो ।
वसन्त दाइ, जयप्रकाश त्रिपाठी, शान्तिप्रिय, मनोज पन्त, राजन घिमिरे, विनोद अर्यालसहितले श्रीविक्रम दाइलाई नजिकबाट चिन्थ्यौँ । काठमाडौँकै राणाको छोरोले बबरमहलमा बेवारिस भएर जीवनलीला समाप्त गर्ला भन्ने कुरा उनी बाँचुन्जेल हामीले सोच्न पनि भ्याएका थिएनौँ । तर, भयो त्यही ।
गायक अरुण थापा सानेपादेखि सुन्धारा र बागबजारसम्म भेटिन्थे । निधन हुनुभन्दा एक–डेढ वर्षअघिबाट उनी वसन्त दाइसँग कसो–कसो नजिक भएका थिए । र, हामीले देख्न, भेट्न पाएका थियौँ । हामीसँगको सङ्गतमा आउँदाको स्थिति यस्तो थियो कि, ‘यो त्यही गायक अरुण थापा हो’ भन्दा मान्छेले पत्याउँदैन थिए । कतिपल्ट ‘ट्वाक’ लाउने ठाउँमा टेबुल बजाएर गीत गाउँदा पनि मान्छेहरू ‘स्वरचाहिँ मिल्दो रहेछ’ भन्ने स्थितिमा हुन्थे । ‘ऋतुहरूमा तिमी…’, ‘जति माया लाए पनि…’ जस्ता गीत गाउने मान्छे यस्तो ‘झल्लुराम’ भएर हिँड्छ भन्ने कुरा कसैको कल्पनामा थिएन । समाज नै यस्तो छ कि, त्यसले अरुण थापाको पीडा देखेन, ‘झल्लुराम’ जिन्दगीको रमिते बनिरह्यो ।
एक दिन खसी बजार गल्लीको एउटा ऐला खाने ठाउँमा वसन्त दाइ र म सँगै गयौँ । उहाँले अरुणलाई ५० रुपियाँ दिनुभयो । म बाहिरै उभिएँ । भित्रबाट साहुको स्वर सुनिँदै थियो, ‘चार ट्वाक पनि पुरानै छ, नयाँ कति ट्वाक जाने हो…।’ वसन्त दाइले ‘म गोरखापत्रको फलानो हुँ, पेजर नम्बर यति हो, नपुगेको पैसा ल्याएर म दिन्छु’ भन्दा पनि साहुले मानिरहेका थिएनन् । गलफती चल्दाचल्दै सङ्गीतकार राजु सिंह आइरहेको (उनको घर त्यहीँ थियो) देखेपछि बेइज्जत हुने भयो भनेर हामी भाग्यौँ । खसीबजारमा पेट्रोल पम्प थियो । छेउमा भात खाने होटेल थियो । हामी त्यहाँ गयौँ । करिब एक घण्टापछि अरुणको स्थिति हेर्न जाँदा उनी त्यहीँ टेबुलमा लडिरहेका थिए । बिल ५०० भन्दा कम, ४०० भन्दा बढीको थियो । वसन्त दाइले खातामा सही गरेर शायद भोलिपल्ट बिहानै तिरिदिनुभयो ।
यसपछि अरुण थापासँग भेट भएन । वा, हामीले नै खोजेनौँ । केही महिनापछि खसी बजारकै कान्तिपुर गेस्ट हाउसमा मृत्यु भएको खबर सुनियो । हामी श्रद्धाञ्जली दिन सँगै पुगेका थियौँ । वसन्त दाइको प्रतिक्रिया थियो, ‘यसरीचाहिँ मर्नु नपरोस्…।’
तर, मेरा प्रिय वसन्त दाइ, आजको समाचारले भन्छ– जस्तो मृत्यु तपाईँ चाहनु हुन्नथ्यो, भयो त्यही । बरु, अरुण त जतिसुकै पिए पनि, नशामा झुम हुँदा पनि आफ्ना गीत सुरमा गाउनसक्नेमै बिते । वसन्त दाइले त आफ्नो पेसामा पेश गरेका ती लोभ लाग्दा शब्दशिल्प, सुन्दर वाक्यहरूको गठनबाट दिने लेखनको मिठास, विम्ब, प्रतीक र संज्ञाहरूको उचित प्रयोग– यी सबै कुरा त्यागिसकेर मृत्युवरण गर्नुभयो । जीवनले लय छोड्यो ।
जसरी श्रीविक्रम राणाको जीवनका आफ्नै पीडादायी कथा थिए, अरुण थापाका पीडा र वेदना उत्तिकै थिए । जुन पीडाले उनीहरूलाई ‘बेवारिस’ मृत्युवरणमा लगेको थियो, वसन्त दाइको पनि त्यही भयो । समाज वा आफ्नो समुदाय बाँचुन्जेलको रमिते भयो । मरेपछि यसरी नै श्रद्धाञ्जली लेख्ने होडबाजी छ ।
२०७४ को निर्वाचनपूर्व नेपाली कांग्रेसको सरकार थियो । स्वाभाविक हो, गोरखापत्रमा जागिर खाएको मान्छेले त्यहीँको महाप्रबन्धक हुन चाहनु । सञ्चार मन्त्री मोहन बस्नेतको कार्यकाल, २०७४ पुसमा त्यो मौका पाउनुभयो । पहिलो ९ महिना राम्रै चलेको थियो । २०७५ कात्तिकमा महाप्रबन्धकबाट हटाइयो । सर्वोच्च अदालतले उक्त निर्णय बदर गरेपछि पुनः बहाली भयो । त्यसबीचमा कार्यविधि संशोधन गरेर महाप्रबन्धकलाई अधिकारविहीन बनाइयो । गाडी खोसियो । कार्यकक्ष पनि पुरानो भवनको अँध्यारो कुनामा दिइयो । अन्ततः अख्तियारले भ्रष्टाचार मुद्दा लगाएपछि निलम्बनमा पर्नुभयो । कार्यकाल त २०७८ पुसमा सकियो । तर, यसबीचका पीडा भनिसाध्ये थिएनन् ।
भाउजू (उहाँकी पत्नी) को मिर्गौला डायलिसिस गरिएको थियो । कलङ्कीमा घर किनेदेखि आर्थिक रूपमा लफडा । गोरखापत्रको महाप्रबन्धक भएपछिका दिन आर्थिक र मानसिक तनाव चुलिएकै समयबाट भाउजूमा मिर्गौला रोग जटिल बन्दै गयो । छोरालाई विदेश पठाउने सपना थियो । आर्थिक तनावले निम्त्याएका थुप्रै असहजताको चङ्गुलमा परेर त्यो कुरा सम्भव भएन ।
काठमाडौँमा कमाइसकेको घर गुमाउनुमात्रै होइन, ऋणको असाध्यै भारीले थिचिनुभयो । ठूलामा लाखौँदेखि सानामा ५००–१०० का ऋणसम्मले थिच्दा अक्षरको साम्राज्यमा रमाइरहेको एउटा मान्छे विक्षिप्त हुन्छ नै । उहाँको पछिल्लो बसाइँ सीतापाइलामा थियो ।
तनहुँ, भन्सार (हाल भानु नगरपालिका) बाट पुलिसको इन्स्पेक्टर हुन आएको मान्छे । इन्स्पेक्टरको जाँच बिग्रिएपछि गोरखापत्रमा जागिर सुरु भयो । कोही–कोहीचाहिँ गोरखापत्रको जागिरपछि पुलिसमा गए । त्यसरी जाने केशव अधिकारीहरू ‘भूपूडीआईजी’ भइसके । उहाँले पुलिसको जागिरमा नाम ननिस्किँदा कुनै विष्मात मान्नुभएको थिएन । बरु, प्रायः भन्नुहुन्थ्यो, ‘कहिल्यै भूपू हुनु नपर्ने, सक्दासम्म लेखिरहने यही (पत्रकारिता) ठीक छ ।’
तर, जीवनको गति त्यसरी पनि चलेन । गोरखापत्रको महाप्रबन्धक भएपछिका दिनमा फेसबुक स्ट्याटसबाहेक अन्यत्र लेखेको देखिएन । मनस्थिति नै बिथोलिएपछि लेख्नु पनि कसरी ?
यसबीच उहाँका कारण थुप्रैले गोरखापत्रमा जागिर खाए । कैयौँ अन्य मिडिया, पेसा र क्षेत्रमा गए । पङ्क्तिकारजस्ता गोरखापत्रका विभिन्न प्रकाशनमा लेख लेख्नेका हिसाब निकाल्नु हो भने लामै हुन्छ । वसन्तप्रकाशले ‘दुःख दियो, सतायो, नराम्रो ग¥यो’ भनेर कसैले, कहिल्यै भनेको सुनिएन । तर, स्वयं उहाँले यस्तो दुःख पाउनुभयो कि, जीवनका आखिरी दिनहरू विरक्तिका पहाड बनेका थिए । त्यो उच्च चेतना, बलियो आत्मविश्वास, लेखन शिल्प र हक्की स्वभावको वसन्तप्रकाश पछिल्ला केही वर्षदेखि थिएन । निराशा र आक्रोशले उहाँलाई थिलथिलो बनाइसकेको थियो । केही समय त पुनर्स्थापना केन्द्र (रिह्याव) मा राख्नुपर्ने दिनसम्म आयो ।
तर, समाजका लागि वसन्तप्रकाशका यी दुःख साझेदारीको विषय बनेन, मात्रै रमिता चलिरह्यो । रमितै रमिताका बीच बाराको जितपुर सिमराको सडकमा अन्तिम रमिता यो समाजले देख्यो । जहाँ सडकमा बेवारिसे अवस्थाबाट उठाएर नजिकैको अस्पताल लगिन्छ । यो को मान्छे हो ? के काम गर्छ ? कसरी यहाँ आइपुग्यो ? धेरै दिन कसैले थाहा पाएन । बुम बोकेर अस्पताल पुगेका मान्छेहरूले प्रश्न गर्दा ‘वसन्त उपाध्याय हुँ, घर तनहुँको भानु हो’ भन्दा पनि त्यही अग्लो व्यक्तित्व वसन्तप्रकाश हो भनेर पत्याइएन । ‘यो त्यही वसन्तप्रकाश हो’ भन्ने ठम्याइँदा यो धर्तीले उहाँलाई गुमाइसकेको थियो । स्थिति करिब–करिब अरुण थापाको जस्तै ।
यस्तो मृत्युवरण वसन्तप्रकाशअघि थुप्रैका भए । कतिपय ‘पाइपलाइन’ मा देखिन्छन् र बाँचिरहे भविष्यमा पनि थुप्रै बेवारिसे मृत्युवरणका समाचार देख्नु, लेख्नु र सुन्नुपर्छ । कोही कसैले ‘मचाहिँ यसरी मर्नु नपरोस्’ भन्नै पर्दैन । हामी यही ‘रमिते समाज’ का सदस्य हौँ । पीडा परुन्जेल रमितामात्रै हेरिरहने, मृत्युपछि यसरी श्रद्धाञ्जलीका शब्द वर्षिने यो समाजको नियति नै हो ।

सम्बन्धित खबर







