वीरगञ्ज (पर्सा), मङ्सिर ११ गते ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, औराहाँ पञ्चगावास्थित श्री दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयले आफ्नो ५५औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
वि.सं. २०२८ सालमा स्थापना भएको विद्यालयले ‘हाम्रो विद्यालय, हाम्रो पहिचान ! हाम्रो गौरव, हाम्रो स्वाभिमान !!’ भन्ने मूल नाराका साथ ५५ आञ्ं वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद थारुको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा विद्यालयका दाता एवं पूर्वमन्त्री मोहनलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।


कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्वमन्त्री नागेन्द्र चौधरी, संविधानसभा सदस्यद्वय जयप्रकाश थारु र रामचन्द्र शाह तेली, सिन्धुपाल्चोक जिल्ला अदालतकी न्यायाधीश रिता बख्रेल, पूर्वप्रधानाध्यापक बद्रीनारायण मिश्र, रामचन्द्र प्रसाद ओझैयालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सवका अवसरमा विद्यालयबाट २०३६ सालदेखि हालसम्म एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । साथै विभिन्न क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्तित्वहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो।
विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू अहिले चिकित्सा, इन्जिनियरिङ, शिक्षण, पत्रकारिता, कानुन व्यवसाय, उद्योग तथा व्यापारलगायतका क्षेत्रमा स्थापित हुन सफल भएको विषयलाई कार्यक्रममा गौरवका साथ स्मरण गरिएको थियो । सोही अवसरमा सञ्चारकर्मीहरूलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति प्रस्तुत गरी समारोहलाई थप आकर्षक बनाएका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक राजकपूर चौधरीले गरेका थिए ।


विद्यालयको ५५औँ वार्षिकोत्सवले संस्थापकको शैक्षिक योगदानको स्मरण गर्नुका साथै विद्यालयसँग जोडिएका पूर्वविद्यार्थी, शिक्षाप्रेमी तथा समाजसेवीहरूलाई सम्मान र विद्यालयको आगामी विकासका लागि सामूहिक सहकार्यको सन्देश दिएको छ ।
विद्यालयका प्रधानाध्यापक शिवनाथ चौधरीले विद्यालयको इतिहास, उन्नति प्रगतिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याएका पूर्वप्रधानाध्यापकहरू बद्री नारायण मिश्रा, रामचन्द्र प्रसाद ओझैया तथा वीरगञ्जस्थित सुन्दरमल कन्या माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं यस विद्यालयका पूर्वशिक्षक हरिकिशोर मिश्रा विशेष रूपमा सम्मानित भएका थिए ।


त्यस्तै पूर्वशिक्षकहरू बचन प्रसाद श्रीवास्तव, रामचन्द्र प्रसाद थारु र जितेन्द्र प्रसाद गौरो , केशवराज गौतम लगायतलाई पनि कार्यक्रममा आमन्त्रण गरी सम्मान गरिएको थियो ।
विद्यालयको ५५ वर्षे शैक्षिक यात्रालाई स्मरण गर्दै आयोजित कार्यक्रममा पूर्वशिक्षक, शिक्षाप्रेमी तथा पूर्वविद्यार्थीहरूलाई स्वागत र सम्मान गरिएको विद्यालय परिवारले जनाएको छ ।