सिटि स्क्यान मेसिन तीन महिनादेखि बन्द , सेवाग्राही मर्कामा

दिपकप्रसाद गौतम /
वीरगञ्ज,चैत २० गते ।
४५ वर्षिय राजेशप्रसाद चौहान टाउकोमा चोट लागेपछि वीरगञ्जको नारायणी आस्पतालमा उपचारको लागि आउनुभयो । ओपिडिको टिकट काटेपछि डा. उमेश कुशवाहसंग चेकजाँच गराउदाँ डाक्टरले टाउकोको सिटि स्क्यान लेख्नुभयो तर सिटि स्क्यानको लागि नीजि अस्पताल सूर्या अस्पताल जान भनियो । नारायणी अस्पतालमा अत्याधुनिक सिटि स्क्यान मेसिन रहेको सुनेका राजेश अच्चमित हुदै सोधखोज गर्दा बिगत तीन महिनादेखि सिटी स्क्यान मेसिनले काम नगर्दा बिरामीहरुलाई समस्या भएको थाहा पाउनु भयो ।
माथि उल्लेखित पात्र राजेशप्रसाद चौहान प्रतिनिधि पात्र मात्र हुनुहुन्छ उहाँ जस्ता दैनिक २० देखि २५ जना बिरामीहरु सिटि स्क्यान जाँचका लागि नारायणी अस्पतालबाट नजिकका अन्य नीजि अस्पतालहरुमा जान बाध्य छन् ।
नारायणी अस्पतालको सिटी स्क्यान मेसिन गत माघ महिनादेखि नै बिग्रिएर बन्द रहेको सिटि स्क्यान फाँटका रेडियोलोजीष्ट डा.पुष्प अधिकारीले गोरखापत्रलाई जानकारी दिनुभयो ।
अस्पतालका रेडियोलोजी विभागका इञ्चार्ज प्रदीप साहले सिटि स्क्यान मेसिनको फ्युज पाईप खराब भएको बताउनु हुन्छ । उहाँका अनुसार चीनमा निर्मित उक्त सिटि स्क्यान मेसिनको फ्युज पाईप पनि चीनबाटै ल्याउनु पर्ने भएकाले ल्याउन समय लागेको बताउनु हुन्छ ।
यता अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले सिटि स्क्यान मेसिनको बदल्नु पर्ने उपकरण १० लाख रुपियाँ भन्दा माथिको भएकाले खर्च गर्दा पुर्याउनु पर्ने प्रशासनिक प्रक्रिया र बदल्नु पर्ने उपकरण चीनबाट मगाउनु पर्ने भएकाले समय लागेको दाबी गर्नुहुन्छ । यो महिना भित्रमा सञ्चालनमा आईसक्ने उहाँले बताउनु भयो ।
नारयणी अस्पतालमा २५ सय रुपियाँ देखि ५५ सय रुपियाँमा हुने सिटि स्क्यान जाँच निजी स्वास्थ्य संस्थामा ४५ सय देखि १० हजार रुपियाँ लाग्ने गरेकाले नारायणी अस्पतालको सिटि स्क्यान मेसिन बिग्रिदा सेवाग्राहीहरुलाई महंगोमा सिटी स्क्यान गराउनुपर्ने बाध्यता रहेको छ ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले सिटी स्क्यान मेसिनमा लाग्ने ट्युव खराब भएर सञ्चालन नभएको बताउदै अस्पतालको सिटी स्क्यान मेसिन खराब भएपछि सेवाग्राहीले सेवा पनि नपाएको र अस्पतालको आम्दानीसमेत गुमेको बताउनु भयो । दैनिक करिब ४० देखि ५० हजार रुपियाँ अस्पतालको आम्दानी गुमीरहेको उहाँले दाबी गर्नुभयो ।
अस्पतालका जिन्सी तथा प्रमुख सुशील यादवका अनुसार मेसिनको ट्युव फ्युज भएर माघ महिनादेखि नै मेसिन बन्द रहेको कुरा स्पतालले आपूर्तिकर्ता लुम्बिनी साईसेन्सलाई जानकारी गराइसकेको र आपूर्तिकर्ताले दुई हप्तामा उपकरण उपलब्ध गराउने भनेको चार हप्ता बितिसकेको बताउनु हुन्छ ।
उहाँले भन्नुभयो , “आपूर्तिकर्तालाई ताकेता गरिरहेका छौं सप्लायर्सले पनि बाहिरबाट मगाउने हो । हामी त्यसमै लागिरहेका छौं । यो महिनाभित्र सप्लायर्सले उपलब्ध गराउँछु भनेको छ । सामान उपलब्ध भएपछि चाँडै सञ्चालनमा ल्याउछौं । ”

सम्बन्धित खबर







