वीरगंज । देशकै आर्थिक नगरी वीरगंजमा ‘मधेस साहित्य महोत्सव’ आयोजना हुदैंछ । उत्कर्ष नेपालको आयोजनामा वीरगंजमा यहि चैत २२ र २३ गते ‘मधेस साहित्य महोत्सव’ आयोजना हुन लागेको हो ।

मधेसको सामाजिक, सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवर्धन गर्ने उदेश्यले वीरगंजमा ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको मधेस साहित्य महोत्सव आयोजन समितिका संयोजक गणेश लाठले बताए । वीरगंजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा संयोजक लाठले दुई दिने ‘मधेस साहित्य महोत्सव’मा तराई–मधेसका २२ वटा जिल्लाको साहित्य, भाषा, कला र संस्कृतिलाई समेटिने बताए ।

महोत्सवमा तराई–मधेसका भोजपुरी, मैथली, अवधि, थारु, माडवारी, उर्दु, हिन्दी भाषाका साथै नेपाली र नेवारी भाषाका साहित्यकार, कवि, कलाकार, चित्रकार, विश्लेषक, स्तम्भकार, लेखक, सर्जक लगायतले आ–आफना सृजना, कला, विचार र अनभुवहरु प्रस्तुत गर्ने उनले बताए । उनका अनुसार,‘मधेस साहित्य महोत्सव’ मा छिमेकी मुलुक भारतका पनि साहित्यकारहरु सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा संयोजक लाठले आर्थिक र व्यापरिक तथा राजनीतिक आन्दोलनको केन्द्रका रुपमा चिनिएको ऐतिहासिक भूमी वीरगंजमा अब साहित्य र संस्कृतिको प्रवर्धन गर्दै नवीन विचारहरुको आदान प्रदान तथा नवोदित प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उदेश्यले ‘मधेस साहित्य महोत्सव’ आयोजना गर्न लागिएको बताए ।

लाठले भने,‘ वीरगंज केवल व्यपारिक शहर र आन्दोलन गर्ने थलो मात्रै होइन, यो साहित्य र कलाको उर्वर भूमीपनि हो भन्ने सन्देश दुई दिने ‘मधेस साहित्य महोत्सव’ले दिनेछ । साहित्य र कलामा वीरगंज मरेको छैन, अझैपनि जिन्दा छ भन्ने सन्देशपनि महोत्सवले दिनेछ।’

वीरगंजस्थित मधेस विश्वविद्यालयको प्रांगणमा आयोजना हुने महोत्सवको पहिलो दिन चैत २२ गते उद्घाटन सत्रपछि साहित्य सम्बन्धि विभिन्न सत्र, कवि गोष्ठी र साँझ सांस्कृतिक साँझ आयोजना गरिने मधेस साहित्य महोत्सव आयोजन समितिकी सदस्य सलमा खातुनले जानकारी दिइन् ।

यस्तै दोस्रो दिन चैत २३ गते सामुहिक किताब विमोचन, मधेसको लोककला, संस्कृति, भाषा, साहित्य सम्बन्धि विभिन्न सत्र र साँझ काव्य तथा सांगीतिक साँझ आयोजना हुने उनले बताइन् ।

पत्रकार सम्मेलनमा उत्कर्ष नेपालका अध्यक्ष रितु राजले पहिलो पटक आयोजन गर्न लागिएको ‘मधेस साहित्य महोत्सव’ ले तराई–मधेसको भाषा, साहित्य, कला र संस्कृतिसहित मधेसको समग्र पहिचानलाई उजगार गर्ने अपेक्षा लिएको बताए । उनले भने “यो केवल एउटा सुरुवात हो, दीर्घकालीन रूपमा मधेशको समग्र पहिचानलाई उजागर गर्ने हाम्रो अभियान रहेको छ ।”

पत्रकार सम्मेलनमा ‘मधेस साहित्य महोत्सव’ आयोजन समितिका सल्लाहकार तथा मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, उत्कर्ष नेपालकी सचिव अन्जु महतो, जय साह, जय यादव, विवेक कर्ण लगायतकाकोपनि उपस्थिती थियो ।