वीरगञ्जमा दुई दिने ‘मधेस साहित्य महोत्सव’ सुरु


दिपकप्रसाद गौतम
वीरगञ्ज, चैत २२ गते ।
मधेसको सामाजिक, सांस्कृतिक र साहित्यिकलाई प्रबर्धन गर्ने उदेश्यका साथ शुक्रबारदेखि दुई दिने मधेस साहित्य महोत्सव सुरु भएको छ ।
उत्कर्ष नेपालको आयोजनामा सुरुभएको मधेसको साहित्य, भाषा, कला र संस्कृतिलाई समेटिएको दुई दिने ‘मधेस साहित्य महोत्सव’ले तराई–मधेसको भाषा, साहित्य, कला र संस्कृतिसहित मधेसको समग्र पहिचानलाई उजगार गर्ने अपेक्षा आयोजकले लिएको छ ।
मधेस साहित्य महोत्सव आयोजन समितिका संयोजक गणेश लाठका अनुसार महोत्सवमा तराई–मधेसका भोजपुरी, मैथली, अवधि, थारु, माडवारी, उर्दु, हिन्दी भाषाका साथै नेपाली र नेवारी भाषाका साहित्यकार, कवि, कलाकार, चित्रकार, विश्लेषक, स्तम्भकार, लेखक, सर्जक लगायतले आ–आफना सृजना, कला, विचार र अनभुवहरु प्रस्तुत गर्नेछन् ।
वीरगञ्ज केवल व्यापारिक शहर र आन्दोलन गर्ने थलो मात्रै होइन, यो साहित्य र कलाको उर्वरभूमीपनि हो भन्ने सन्देश यो दुई दिने ‘मधेस साहित्य महोत्सव’ले दिने दाबी लाठले गर्नुभयो ।
वीरगञ्जस्थित मधेस विश्वविद्यालय परिसरमा आयोजित महोत्सवको पहिलो दिन चैत २२ गते शुक्रबार उद्घाटन सत्र त्यसपछि साहित्य सम्बन्धि विभिन्न सत्रहरुका साथै कवि गोष्ठी र साँझ सांस्कृतिक साँझ आयोजना गरिने बताईएको छ ।
त्यस्तैगरी दोश्रो दिन चैत २३ गते सामुहिक किताब विमोचन, मधेसको लोककला, संस्कृति, भाषा, साहित्य सम्बन्धि विभिन्न सहरु र साँझ काव्य तथा सांगीतिक साँझ आयोजना गरिने उत्कर्ष नेपालका अध्यक्ष रितु राजले जानकारी दिनुभयो ।
उहाँका अनुसार मधेशको समग्र पहिचानलाई दीर्घकालीन रूपमा उजागर गर्ने अभियान नै ‘मधेस साहित्य महोत्सव’ हो जसले तराई–मधेसको भाषा, साहित्य, कला र संस्कृतिसहित मधेसको समग्र पहिचानलाई उजगार गर्छ ।
