दिपकप्रसाद गौतम
वीरगञ्ज, चैत ३० गते ।
शोभायात्राका सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत हुँदा स्थितीलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले वीरगञ्जका कर्फ्यु आदेश जारी गरेको छ ।
हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा वीरगञ्जमा निकालिएको शोभायात्राका सहभागी र छपकैयाका स्थानीय समुदायबिच झडप भई अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एउटा सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शनिवार साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोलि मध्यान्ह १२ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गर्नु भएको हो ।
दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनु भयो ।
स्थानीय प्रशासन ऐेन २०२८ को दफा ६ (क) बमोजिम पूर्वमा वीरगञ्ज–१५ भेडियाही चोकदेखि पश्चिममा वीरगञ्ज–२५ सिर्सिया पुल, उत्तरमा वीरगञ्ज–१४ गण्डक चोक र दक्षिणमा वीरगञ्ज–१६ शंकराचार्य गेटसम्म कर्फ्यू लगाईएको हो ।
कफ्र्यू अवधिमा तोकिएको स्थानमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, सभा, प्रदर्शन, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा जनाइएको छ ।
हिजोदेखि सुरु भएको रात्रिबजार कर्फ्यूका कारण स्थगित
नयाँ वर्ष २०८२ को स्वागतमा वीरगञ्ज महानगरपालिकाले शुक्रबार २९ गतेदेखि आइतबारसम्म सञ्चालन गर्ने गरी आयोजना गरेको रात्रिबजार शनिबार स्थगित भएको छ ।
हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्रामा दुई समुदायबीच झडप भई स्थिती नियन्त्रणमा लिज स्थानीय प्रशासनले कर्फ्यू जारी गरेपछि महानगरपालिकाले आजका लागि रात्रि बजार स्थगित गरेको हो ।
नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिएर वीरगञ्ज महानगरपालिकाले आदर्शनगरस्थित पुरानो बसपार्कमा ‘रात्रि बजार’ आयोजना गरेको थियो । महानगरले ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगन्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआर लगायतका संघ संस्थासँग सहकार्य गरी रात्रि बजार लगाएको थियो ।