सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साले मनायो १८औँ स्थापना दिवस

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आफ्नो १८ औँ स्थापना दिवस भव्य र उत्साहपूर्ण रूपमा मनाएको छ । आइतबार वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित गणको प्राङ्गणमा आयोजित विशेष समारोहमा विभिन्न औपचारिक कार्यक्रम, सम्मान, सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले सशस्त्र प्रहरी बलको गौरवपूर्ण इतिहास र यसले राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा र आपत्कालीन उद्धारमा पुर्याएको योगदानको चर्चा गरे ।
उनले भने, “सशस्त्र प्रहरी बलले देशको सीमा सुरक्षा, आन्तरिक शान्ति र विपद् व्यवस्थापनमा खेलेको भूमिका अतुलनीय छ । नम्बर १३ गणले पर्सा क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न र समुदायसँग सहकार्य गर्न उल्लेखनीय काम गरेको छ ।”
धौवाजीले गणका सबै सदस्यहरूलाई स्थापना दिवसको शुभकामना दिँदै आगामी दिनमा थप जिम्मेवारी र उत्कृष्टताका साथ सेवा गर्न प्रेरित गरे ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले सशस्त्र प्रहरीको कर्तव्यनिष्ठता र समर्पणको प्रशंसा गर्दै स्थानीय प्रशासनसँगको सहकार्यले जिल्लामा शान्ति र सुरक्षा कायम गर्न महत्त्वपूर्ण योगदान पुगेको बताए । उनले भने, “सशस्त्र प्रहरीको सक्रियता र समन्वयले पर्सा जिल्लामा अवैध कारोबार, तस्करी नियन्त्रण र तनावपूर्ण स्थिति व्यवस्थापनमा सहयोग पुगेको छ । गणले समुदायसँग जोडिएर गरेको काम प्रशंसनीय छ ।”
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासले जिल्लामा सुरक्षा व्यवस्था थप सुदृढ भएको उल्लेख गरे । उनले भने, “हामीले सधैँ सशस्त्र प्रहरीसँग काँधमा काँध मिलाएर काम गरेका छौँ । गणले सीमा क्षेत्रमा गरेको सतर्कता र समुदायसँगको सम्बन्धले हाम्रो कामलाई थप प्रभावकारी बनाएको छ ।”
स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सशस्त्र प्रहरी बलका जवानहरूले विभिन्न औपचारिक कार्यक्रम र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । परेड, सांस्कृतिक नृत्य, र गायनले उपस्थित अतिथि र दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो । साथै, गणले विगतमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूसँगै विभिन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरूलाई सम्मान पत्र र पुरस्कार प्रदान गरी हौसला प्रदान गरेको थियो ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले समारोहलाई सम्बोधन गर्दै गणको स्थापना कालदेखि हालसम्मको यात्रा र उपलब्धिहरूबारे प्रकाश पारे । उनले भने, “हामीले सधैँ राष्ट्र र जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेका छौँ । हाम्रो टिमको मेहनत र समर्पणले यो गणले विभिन्न चुनौतीहरूको सामना गर्दै यहाँसम्म आइपुगेको छ ।” उनले स्थानीय प्रशासन, प्रहरी, र समुदायको सहयोगप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा वक्ताहरूले सशस्त्र प्रहरी बलको सीमा सुरक्षा, तस्करी नियन्त्रण, र सामुदायिक सहकार्यमा खेलेको भूमिकालाई विशेष जोड दिए । पर्सा जिल्ला भारतसँगको खुला सीमा क्षेत्र भएकाले यहाँ तस्करी र अवैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता महत्त्वपूर्ण रहेको कुरा उठाइएको थियो ।
स्थापना दिवसको अवसरमा अमर सशस्त्र प्रहरीका परिवार, विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरू र सहयोगी दाताहरूलाई,समाजसेवीहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो। सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले दिएको जानकारी अनुसार कार्यक्रममा सशस्त्र प्रहरी कर्मचारीहरूले विभिन्न राष्ट्रभक्ति गीतसहितको सांगीतिक प्रस्तुति दिएर उपस्थित अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

सम्बन्धित खबर







