विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्साका पालिका प्रमुखहरू सक्रिय

वीरगञ्ज । शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्सा जिल्लाका १४ वटै पालिकाका प्रमुखहरू एकमत भई सक्रिय भएका छन्।
सरकारले वैशाख २ गतेदेखि सुरु गर्ने भनिएको विद्यार्थी भर्ना अभियान आन्दोलनले रोकिएपछि अब वैशाख ८ गतेदेखि १५ गतेसम्म जिल्लाभर अभियान सञ्चालन गर्ने सहमति भएको हो।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको संयोजकत्वमा बसेको पालिका प्रमुखहरूको बैठकले भर्ना अभियानलाई अविलम्ब अघि बढाउन सम्बन्धित पालिकाका विद्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ।
बैठकमा पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले जस्तोसुकै आपतकालीन अवस्थामा पनि विद्यार्थीहरूको सिकाइ अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै विद्यालयहरूमा तालाबन्दी गरेर विद्यार्थीलाई पठन–पाठनबाट बञ्चित गर्नु अन्यायपूर्ण रहेको बताए। उनले शिक्षकहरूको माग जायज भए पनि विद्यार्थीको भविष्यलाई बन्धक राख्नु उपयुक्त नभएको स्पष्ट पारे।
त्यस्तै, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले संविधानविपरीतका केही मागहरू अघि सारिएको आरोप लगाउँदै, यस्ता मागबाहेक शिक्षकहरूको आन्दोलनप्रति समर्थन रहने बताए।
ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठन–पाठन प्रभावित हुनुका साथै पालिकाहरूले अपजस भोग्नुपरेको बताए। विद्यालय खोल्न तत्काल उपाय खोज्न उनले आग्रह गरे।
बैठकमा सहभागी प्रमुखहरूका अनुसार, संविधानले आधारभूत र माध्यमिक तहको शिक्षा व्यवस्थापन स्थानीय तहको अधिकारभित्र पर्ने स्पष्ट व्यवस्था गरेकाले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सबै पालिकाहरू प्रतिबद्ध छन्।
राजेशमान सिंहले विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको अवस्थामा विद्यालय आफैं आन्दोलनमा होमिनु दुःखद भएको भन्दै आन्दोलनको कार्यक्रम परिमार्जन गरी विद्यार्थीलाई पठन–पाठनबाट बञ्चित हुन नदिन आग्रह गरे।
बैठकमा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख हरि राउतले ६० प्रतिशतभन्दा बढी शिक्षक गाउँघरमै उपस्थित रहेकाले उनीहरू विद्यालय सञ्चालनमा जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
बैठकमा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, पोखरीया नगरपालिकाका प्रमुख पधुम्न चौहान, बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन सा तेली, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, विन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योती देवी चौरसिया र अन्य पालिकाका शिक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर







