दिपकप्रसाद गौतम
वीरगञ्ज, जेठ १० गते ।
मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहले एक लाख जनालाई रोजगारी दिने अवधारणा सहितको नीति तथा कार्यक्रम मधेस सरकारले ल्याउदै गरेको बताउनु भएको छ ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको आयोजनामा वीरगञ्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मधेस सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कुशवाहले एक लाख जनालाई रोजगारी दिने अवधारणा सहितको नीति तथा कार्यक्रम सरकारले ल्याउदै गरेको दाबी गर्नु भएको हो ।
एक लाख जनालाई रोजगारी दिनका लागि रोजगारी सृजना गर्न जतिपनि गतिबिधि गर्नुपर्दछ त्यसको गृहकार्यमा आफूहरु लागि परेको बताउनु हुँदै मन्त्री कुशवाहले मधेस प्रदेशमा लगानी गर्ने भनेकै कृषि , उद्योग तथा पर्यटन क्षेत्र भएकाले त्यसतर्फ नै प्रदेश सरकारले रोजगारी सृजना गर्ने उदेश्यकासाथ कार्यक्रम ल्याउने उहाँले बताउनु भयो ।
पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने त्यसलाई व्यवस्थित गर्दै मधेसमा भएका गन्तव्य पर्याप्त नभएकाले मधेसको माटो सुहाउँदो नयाँ गन्तव्य सृजना गर्नुपर्ने अवस्था रहेको औल्याउदै मन्त्री कुशवाहले अन्य सृजना गर्न सकिने पर्यटकीय गन्तव्यको बारेमा सबैले सोच्नुपर्ने विचार प्रकट गर्नु भयो ।
मधेसमा पर्यटक किन आउने ? गन्तव्यहरु के के हुने ?यसका लागि सरकारले टुक्रे योजनाभन्दा पनि निश्चित गन्तव्य निमार्णमा लगानी गर्नेतर्फ सरकारले गृहकार्य गरी रहेको त्यसकालागि कसैसंग केही योजना भए आफूलाई पठाईदिन मन्त्री कुशवाहले सहभागी सबैसंग आग्रह गर्नु भयो ।
पर्यटकीय क्षेत्रको प्रचार प्रसार र बजारीकरणमा पनि मधेस प्रदेशले केही लगानी गर्नुपर्ने जनाउदै उहाँले आफै घुमेर , अनुगमन गरेर आवश्यक क्षेत्रमा लगानी गरिने आश्वासन समेत दिनुभयो ।
कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतम , पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल , वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम , मधेस विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य , नेपाल होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त लगायतले मधेस प्रदेशका पर्यटकीय क्षेत्र , पर्यटन व्यवसायको सम्भावना र चुनौतीका बारेमा आ आफनो विचार राख्नु भएको थियो भने केही सहभागीहरुले पर्यटन व्यवसायसंग सम्बन्धित जिज्ञासाहरु मन्त्री तथा पर्यटन व्यवसायीहरुसामु राख्नु भएको थियो । धुमौ मधेस बुझौ मधेस भन्ने नाराको साथ नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघले मधेस प्रदेशका पर्यटकीय गन्तव्यहरुको अध्ययन अवलोकन गर्नेक्रममा शनिबार वीरगञ्ज आईपुगेको हो ।