कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट देवकोटा र झा सम्मानित


१५ जेठ,वीरगञ्ज । कृष्ण सेन ’इच्छुक’ को २३औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले दुई जना पत्रकारलाई ’कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।
प्रेस सेन्टर नेपाल पर्सा शाखाले बिहीबार वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रममा दुवै पत्रकारलाई पुरस्कृत गरिएको हो।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेलको संयोजकत्वमा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ याथव र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल सदस्य रहेको पुरस्कार छनोट समितिले गोविन्द देवकोटा र रितेन्द्र झालाई पुरस्कारका लागि छनोट गरेको थियो ।
गोविन्द देवकोटालाई तत्कालीन क्रान्तिकारी पत्रकार संघको भोजपुरा राज्य समितिको संस्थापक संयोजकको जिम्मेवारीमा रही पर्सामा क्रान्तिकारी पत्रकार संघ स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र जनपक्षीय पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा सम्मान गरिएको हो।
त्यसैगरी, रितेन्द्र झा (रितेश झा) लाई प्रेस सेन्टर नेपालको नीति, विधि र विधानलाई आत्मसात् गर्दै प्रेस सेन्टर पर्सामा आबद्ध भई संस्था निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र जनपक्षीय पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा पुरस्कृत गरिएको प्रेस सेन्टर नेपाल पर्साका सचिव अजित कुमार भुजेलले जानकारी दिए ।
पुरस्कृत व्यक्तिहरुलाई प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी र महासचिव मनोज घर्ती मगरले नगद राशी सहित दोसल्ला, टिका, माला र सम्मानपत्र सहित सम्मान गरिएका थिए ।
प्रेस सेन्टर नेपाल पर्सा शाखाले सम्मानित पत्रकारहरूबाट आगामी दिनमा संगठनलाई थप सुदृढ, व्यवस्थित, सबल र सक्षम बनाउन सक्रिय भूमिकाको अपेक्षा गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरिले पत्रकार कृष्ण सेन इच्छुकले पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदान र उनको बलिदानले नेपाली पत्रकारिता आन्दोलनलाई दिएको प्रेरणाको चर्चा गर्दै वर्तमान समयमा पनि प्रेस स्वतन्त्रता र सत्यतथ्यमा आधारित पत्रकारिताको आवश्यकता औंल्याए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व विश्व पत्रकार महासंघ एशियाका सहसचिव दीपेन्द्र चौहान, पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोज केसी लामिछाने, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगर, पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासंघ मधेस प्रदेश सचिव दीपक गौतम, होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साका अध्यक्ष हरि पन्त, उपभोत्ता हित संरक्षण मञ्चका उपाध्यक्ष रचिन्द्र थापा, सशस्त्र प्रहरी बल नेपाल पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंह, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र लगायत विभिन्न सञ्चार सम्बद्ध संगठनका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर


