दिपकप्रसाद गौतम
वीरगञ्ज, जेठ १५ गते ।
पर्साका उद्योगी व्यवसायीहरुले सरकारले आज ल्याएको बजेट गत वर्षको जस्तै रहेपनि केही राम्रा सहित केही नकारात्मक भएको पनि प्रतिक्रिया दिनु भएको छ । राजश्व संकलनको लक्ष्य पूरा हुन नसकेको वर्तमान अवस्थामा आगामि आर्थिक वर्षमा यस वर्षभन्दा बढी राजश्व उठाउने लक्ष्य लिनु केही महत्वाकांक्षी रहेको जनाउदै व्यवसायीहरुले भन्सारको मूल्यांकन पुस्तिक डिजिटालाईजेशमा रुपान्तरित गर्ने भनिनु सकारात्मक रहेको बताउनु भएको छ ।
अशोक टेमानी अध्यक्ष उद्योग वाणिज्य महासंघ मधेस प्रदेश
बजेटमा धेरै कुरा पुर्नलेखन भएर आएका छन । कृषि व्यवसायीकरणको लागि भूमि ऐनको व्यवस्था गरिएको छ । नीजि क्षेत्रले पटक पटक भन्दै आईरहेको यस पटक बजेटमा आएको छ त्यस्तैगरी आईटि उद्योगको लागि ७५ प्रतिशत आयकर माफि गरेको छ । ग्रीन हाईड्रोजनका लागि आउने औजार उपकरणमा आयकर हटाई निशुल्क गरेको छ । उधारो सामाग्री लगेर पैसा नदिने व्यवसायीहरुका उधारो उठाउनका लागि सरकारसंग उधारो कानुनको हामीले माग गरेका थियो त्यो चाँही बजेटले व्यवस्था गरेको छ । महिलाको नाममा उद्योग दर्ता गर्दा वा नविकरण गर्दा निशुल्क हुने व्यवस्था गरेको छ जुन सकारात्मक हो । बारा जिल्लासम्म सिचाईको कार्यक्रम देखियो पर्सामा सिचाँइको कुनै कार्यक्रम पनि आएको देखिएन । जनकपुरको लागि पर्यटन क्षेत्रको विषयमा बजेटमा सम्बोधन भएको छ । २५ हजार भारुसम्म पैसा बोकेर ल्याउन पर्ने गरेकोमा यसपालीको बजेटले ५ हजार डलर अर्थात ४ लाख २५ हजार ल्याउन सक्ने व्यवस्था गरेको छ । यो बजेट नीजि क्षेत्रलाई अलिकति बढावा दिनेखालको रहेको उहाँले टिप्पणी गर्नु भयो । उठने राजश्व सारा चालु खर्चमा नै जाने देखिएकाले बजेट कार्यान्वयनमा नै समस्या देखिएको छ ।
हरि गौतम अध्यक्ष ,वीरगञ्ज उद्योग वाणिज्य संघ
बजेट राम्रो पक्ष भनेको खास कुनै कुरामा कर बढाएन । भन्सारमा खाद्यान्न तथा औद्योगिक कच्चा पदार्थ लिने गरेको २ दशमलव ५ प्रतिशत आयकर हटायो । कर नबढाउनु भनेको सकारात्मक कुरा भयो । बजेटको बिपक्षमा भन्नुपर्दा बजेट फेरी हचुवाको भरमा आयो । यो आर्थिक वर्षमा अहिले सम्म ९/१० खर्ब राजश्व पुगेको छैन अन्त्यसम्ममा बढीमा ११ खर्ब पुग्ला तर बजेटमा १३ देखि साढे १३ खर्ब राजश्व उठाउने कुरा गरिनु हचुवा भएन र । चालु खर्च घटाउन सरकार निर्मम भएर जानु पर्थ्यो जान सकेन , वितरणमुखी अर्थतन्त्र र टालटुले नीतिले यो मुलुक चल्न सक्दैन । चालु खर्च बढाउन बढी स्रोत देखाईयो अब विकास खर्च अर्थात पुजिगत खर्चका लागि पैसै नहुने स्थित आउन सक्छ । हाम्रो देशमा सुशासन राम्रो नभएकाले वैदेशिक सहायता राम्रो नआउने उहाँले दाबी गर्नु भयो । बजेटको लागि बजेट आयो तर वास्तविक बजेट आउनसकेन । सुशासनमा , जेष्ठ नागरिकमा , सेनामा चालु खर्च घटाउन सक्नुपर्थ्यो त्यो भएन । आन्तरिक ऋण ६देखि ७ अर्ब बढने उहाँले दाबी समेत गर्नु भयो । चालु खर्चका लागि बजेट कार्यान्वयन भएपनि पैसा नै नभएकाले पुजिगत खर्च नै नहुने देखियो । सरकारले बजेट सुधार गर्ने अवसर झण्डै दुईतिहाईको सरकारले ।
डा.दिपेन्द्र कुमार चौधरी अर्थविद
नीजि क्षेत्रलाई प्रोत्साहन गरेकाले समग्रमा बजेट राम्रो छ । होटल पर्यटन गर्ने व्यवसायीहरुलाई वनको जग्गा लिजमा दिने कुरा गरिएको छ । वन क्षेत्रको राजमार्गमा फर्निचर उद्योग सञ्चालन गर्ने कुरा गरिएको छ । नयाँ व्यवसाय सुरु गर्नेहरुको लागि ३ प्रतिशत ब्याज दरमा पुँजी ऋणमा दिने कुरा गरिएको छ । यसरी नीजि क्षेत्र फस्टाएमा आर्थिक वृद्धिको बाटो खुल्दछ । बजेटको श्रोतको सुनिश्चिततामा नै समस्या देखिएको छ किनकि प्रत्येक वर्ष बजेट घाटा बढदै गईरहेको छ । विदेशबाट विनिमय भएर बिप्रेशन भएर आएको पैसाले गर्दा हिसाब गर्दा आर्थिक वृद्धि दर देखिएको र चालु आर्थिक वर्षको ढेड महिना बाँकि भएकाले त्यो वृद्धिदर अनुमानित भएको उहाँले दाबी गर्नुभयो ।
माधव राजपाल वरिष्ठ उपाध्यक्ष , वीरगञ्ज उद्योग वाणिज्य संघ
हामीले भन्सार मूल्य पुस्तिका नै खारेजी गर्नुपर्छ भनेका थियौ तर यस बजेटमा भन्सार मूल्यांकन पुस्तिकालाई डिजिटल डाटा बेसमा रुपान्तरण गर्ने प्रावधान लिएर आउने भनिएको जुन सकारात्मक हो । सुचना प्रबिधिमा आयकर र विद्युतमा छुट दिईएको छ । फास्टट्याकका लागि बजेट राखी कति प्रतिशत काम गर्ने भनेको छ त्यो पनि राम्रो पक्ष हो । १० डलर सम्मको कारोबार गर्ने स्टार्टअपलाई पाँच वर्षसम्म आयकर छुट दिने व्यवस्था हुनु स्टार्टअप गर्नेहरुको लागि सहयोग हुने छ । गत वर्ष कै बजेटलाई केही तलमाथि गरेको यो बजेट ल्याईएको छ बजार चलायमान नरहेकाले यो अस्थिर देखिएको उहाँले बताउनु भयो ।
अशोक बैद्य ,भूतपुर्व अध्यक्ष वीरगञ्ज उद्योग वाणिज्य संघ
अग्रिम आयकर हटाउनु , उद्योग व्यवसायलाई केही सुबिधाको घोषणा गर्नु बजेटको राम्रो पक्ष हो । निर्यातका विषयमा पनि राम्रै सम्बोधन बजेटले गरेको छ । समग्र बजेट राम्रै आएको बताउदै उहाँले भन्नुभयो बजेटको राम्ररी अध्ययन गर्न पाएको छैन अध्ययन गरेपछि अन्य कुराहरु भनौला ।