दिपकप्रसाद गौतम
वीरगञ्ज, असार ०६ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौँ कार्यालयबाट खटि आएको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र पोखरिया नगरपालिकाका जिन्सी, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दीप साहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार काठमाडौँबाट खटिएको आयोगको टोलीले श्रीवास्तवलाई पोखरिया नगरपालिकामा कार्यरत रहदाँ त्यहाका विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गरेको आरोपमा पक्राउ गरेको हो भने सोही प्रकृतिका आरोपमा सन्दीप साह पनि पक्राऊ परेका हुन् ।
बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई शुक्रबार बिहान वीरगञ्ज १५ मा रहेको दिनबन्धु पेट्रोल पम्प अगाडि रहेको चिया पसलबाट पक्राऊ गरिएको थियो ।
त्यस्तैगरी पोखरिया नगरपालिकाका जिन्सी, प्रशासन तथा इन्धन वितरण शाखाका प्रमुख सन्दीप साहलाई आयोगको टोलीले वीरगञ्जको प्रगतिनगरस्थित उनकै निवासबाट पक्राऊ गरेको हो ।
पक्राऊ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी ४ बजे काठमाण्डांैतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्ररी उपरिक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।
सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र रकम लिएको प्रमाण भेटिएपछि अख्तियारले श्रीवास्तवविरुद्ध कानुनी कारबाही अघि बढाएको जनाईएको छ ।
पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानका विश्वासपात्र साहलाई नगरपालिकाका विभिन्न आयोजना र सामान खरिदमा ठेकेदार तथा सेवाग्राहीहरूसँग अनाधिकृत रूपमा आर्थिक लेनदेन गरेको आरोपमा आयोगले पक्राऊ गरेको हो ।
श्रीवास्तव एक महिना अघिमात्र पोखरिया नगरपालिकाबाट सरुवा भई बहुदरमाई नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर आउनु भएको हो । उहाँ पोखरिया नगरपालिकामा रहदाँ कर्मचारी नियुक्तीमा आर्थिक अनियमिनता भएको , विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता भएको भनी अख्तियारमा उजुरी परेपछि अनुसन्धानका क्रममा अख्तियारले यसअघि नै छापामारी गरी केही कागजात नियन्त्रणमा लिई अनुसन्धान गरी रहेको थियो ।
अनुसन्धानमा क्रममा केही प्रमाण भेटिनु , लिखित स्पष्टीकरणहरु समेत अख्तियार कार्यालयमा समयमा नपठाउनु जस्ता कारणले अख्तियार कार्यालयले तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव लगायत ६/७ जना उपर पक्राऊ पुर्जी नै जारीगरी पक्राऊ गर्न सुरु गरेको बुझिएको छ ।