वीरगञ्ज महानगरको बाइपास सडकछेऊमा ७० बिरुवा रोपिए

वीरगञ्ज, साउन १५ गते ।
वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकाको बाइपास सडक छेऊमा बुधवार वृक्षारोपण गरिएको छ ।
सामुदायिक साझेदारी अभियान अन्तर्गत वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवन र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो ।
उक्त वृक्षारोपण कार्यक्रममा वीरगञ्ज महानगरपालिका–१६ स्थित वैष्णवी मन्दिर चौकदेखि नयाँ बसपार्कसम्मको सडक किनार क्षेत्रमा करिब ७० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।
रोपिएका हरेक बिरुवाहरूको संरक्षण सुनिश्चित गर्न फलामको तारजाली (प्रोटेक्टिभ गार्ड) समेत जडान गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त वृक्षारोपण कार्यक्रममा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान , जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरीका शसस्त्र प्रहरी उपरिक्षक पुर्णचन्द्र भट्ट, चुरे तराई मधेश समिति चितवनका अध्यक्ष डा. किरण पौडेल लगायतको उपस्थिति थियो ।
नगर प्रमुख सिंहले वातावरण संरक्षणलाई सामूहिक जिम्मेवारीका रूपमा व्याख्या गर्दै भने, “हरियाली विस्तार हाम्रो महानगरको दीर्घकालीन प्राथमिकता हो। आजको वृक्षारोपण कार्यक्रमले प्रहरी, नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्यलाई थप बलियो बनाएको छ ।”

सम्बन्धित खबर







