साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुँइचो

वीरगञ्ज । पवित्र साउन महिनाको अन्तिम सोमबार आज देशभरका प्रमुख शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको अभूतपूर्व घुइँचो लागेको छ। साउनका अघिल्ला सोमबारहरूमा व्रत बस्न नपाएकाहरूले समेत अन्तिम सोमबार विधिपूर्वक पूजाआजा र व्रत सम्पादन गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण मन्दिरहरूमा सर्वसाधारणको ठूलो उपस्थिति देखिएको हो ।
काठमाडौँको आराध्यदेव पशुपतिनाथसहित भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, पर्वतको गुप्तेश्वर, दाङको धारपानी र चितवन, नवलपरासी एवं तनहुँको सङ्गमस्थल देवघाटधाममा बिहानैदेखि पूजाआजा गर्नेहरूको लामो लाइन लागेको छ।
तराई-मधेसमा भने चान्द्रमास र तिथिको गणना अनुसार आज साउनको दोस्रो सोमबारका रूपमा पूजाआजा गरिँदैछ । पर्साको दुग्धेश्वर महादेव मन्दिर (भाथाधाम), वीरगञ्जको अलखिया मठ, पशुपतिनाथ मन्दिर, कलैयाको सिद्धेश्वर महादेव मन्दिर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरूमा पनि सोही अनुसार श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको छ।
धर्मशास्त्रका जानकारहरूका अनुसार यस पटक साउनको अन्तिम सोमबार ‘सोमप्रदोष व्रत’को विशेष संयोग परेको छ। सोमबारका दिन त्रयोदशी तिथि पर्दा हुने यस योगमा सूर्यास्त आसपासको ‘प्रदोषकाल’मा शिव मन्दिरमा दीप प्रज्वलनसहित दूध, दही, घ्यु र बेलपत्रले पूजा गरी पहेँलो वस्तु चढाउँदा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक मान्यता छ।
सौरमास अनुसार साउनको अन्तिम सोमबार पशुपतिनाथमा जल चढाउन काठमाडौँको सुन्दरीजलमा आइतबार रातिदेखि नै १० हजारभन्दा बढी भक्तजनको घुइँचो लागेको थियो। बोलबम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपालको आयोजनामा सुन्दरीजल पुगेका तीर्थालुहरूले बागमतीमा स्नान गरी खाली खुट्टा जल बोकेर पशुपतिनाथसम्मको यात्रा तय गरेका हुन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार बोलबम यात्रीहरूका लागि बासुकी हुँदै उत्तर ढोकाबाट जल चढाउने विशेष व्यवस्था मिलाइएको छ। दर्शनार्थीको चापलाई ध्यानमा राख्दै कोषले आज बिहान ३:०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको छ ।

सम्बन्धित खबर







