वीरगञ्ज (पर्सा), साउन ३० गते ।
बारा जिल्लाको फेटा गाँऊपालिका वडा न ३ फेटामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फेटाको बिहानी सत्रको पठनपाठन अस्तव्यस्त हुँदा करिब आठ सय विद्यार्थीको भविष्य धरापमा परेको छ ।
विद्यालयका प्रधानाध्यापक अनिल कुमार गुप्ताले आफ्‌नो जिम्मेवारी सहिरुपमा पालना नगर्दा विद्यालयको बिहानी सत्रको पठनपाठनमा समस्या उत्पन्न मात्र भएको छैन बिहानी सत्रमा पढने विद्यार्थीहरुको भविष्य नै के होला भन्ने खतरासमेत बढेको छ ।
विद्यालयमा हुने हरेक गतिबिधिको निगरानी तथा व्यवस्थापन गर्दै विद्यालयमा हुने सबै खाले क्रियाकलापलाई राम्ररी सञ्चालन गर्नु प्रधानाध्यापकको मुख्य भुमिका हुन्छ । सकभर आफैले , आफू उपलब्ध नहुँदा अन्यलाई अधिकार प्रत्यायोजन गरी विद्यालयको गतिबिधि सहजरुपमा उपलब्धीमुलक ढंगबाट सञ्चालन गर्नु प्रधानाध्यापकको दायित्व हो । फेटा ३ मा रहेको यस विद्यालयका प्रधानाध्यापक गुप्ता आफ्‌नो दायित्व , जिम्मेवारीबाट टाढा रहेकाले समस्या उत्पन्न भएको हो ।
कुरा के हो भने बिहानी सत्रको पढाई बिना प्रधानाध्यापक , सञ्चालन हुँदै आएको छ । कक्षा ८ , ९ र १० को अग्रेजी माध्यम अनि प्राबिधिक धारको कक्षा ९ , १० , ११ र १२को नेपाली माध्यमको पढाई १२ महिना बिहानी सत्रमा सञ्चालन हुने गरेको छ ।
बिहानी सत्रमा प्रअ नहुँदा कुनै शिक्षकहरु अनुपस्थित रहेको अवस्थामा कक्षा खालि भई विद्यालयमा अन्य कक्षाहरुको पठनपाठनमा समस्या हुने गरेको एक शिक्षकले नाम नछाप्ने सर्तमा बताउनु भयो । बिना मियोँको दाई भनेझै प्रअ नहुँने गरेकाले शिक्षकहरुले पनि समयमा र पूरा समय कक्षा नलिदाँ , शिक्षकहरुले गरेको गतिबिधि निगरानी नगरिदाँ विद्यालयको पठनपाठन राम्ररी सञ्चालन हुन नसकेको हो । प्रअ गुप्ताले आफू नेपाल सरकारको समय बिहान १० देखि ४ बजेसम्म विद्यालयमा बस्ने गरेको बताउनु हुन्छ । मावि तहको शिक्षक दरबन्दीमा रहनु भएका प्रअ अनिल कुमार गुप्ता आधारूत तहका विद्यार्थीहरु मात्र रहने समयमा विद्यालयमा रहदाँ गाँऊपालिका कार्यालयले हाल सम्म कुनै किसिमको कारवाही गर्न सकेको छैन ।
गाँऊपालिकाको शिक्षा शाखाका प्रमुख श्यामकिशोर गुप्ताले गाँऊपालिकालाई यस सम्बन्धमा जानकारी नभएकाले केहि नगरिएको बताउनु भयो । उहाँले भन्नुभयो ‘अहिले विद्यालयमा वर्षे बिदाको छुट्टि रहेकाले विद्यालय खुलेपछि यस सम्बन्धमा बुझ्‌ने छौं । विद्यालय सञ्चालन समयमा कुनै कुनै दिन बाहेक सधै प्रअ उपस्थित हुनैपर्छ , यहाँले भनेजस्तो हो भने कारवाही गछौँ ।’
फेटा ३ का वडा अध्यक्ष प्रल्हलाद साहले विद्यालयको समस्याका बारेमा गाँऊपालिका अध्यक्षसंग छलफल भईसकेको र विद्यालय बन्द रहेकाले हाललाई केहि नगरिएको विद्यालय खुलेपछि वडा कार्यालय र गाँऊपालिका कार्यालयले प्रअलाई विद्यालय सञ्चालित अवधिभर विद्यालयमा उपस्थित गराउने अन्यथा अन्य बिकल्प अपनाउने बताउनु भयो ।
विद्यालयका शिक्षक राकेश चौरसियाले प्रअ विद्यालयमा बिहानी सत्रमा नआउने गरेको कुरा सत्य भएको पुष्टि गर्नुभयो । शिक्षकहरुले अभिभावकीय भूमिका वहन गर्दै पठनपाठन प्रभावकारी बनाएर शैक्षिक क्रियाकलाप राम्ररी सञ्चालन गर्न बिहानी सत्रमा प्रअ विद्यालयमा उपस्थित हुनुपर्ने माग राख्दै गाँऊपालिकामा सामुहिक निवेदन दिदाँ समेत गाँऊपालिका कानमा तेल हालेर बसेको छ । आफू करिब ३ महिनादेखि शाखा प्रमुख रहेकाले केही जानकारी नभएको अब यस विषयमा पनि खोजि गर्दै आवश्यक कार्य गाँऊपालिका कार्यालयले गर्ने शिक्षा शाखा प्रमुख श्याम किशोर गुप्ताले आश्वासन दिनुभयो ।
विद्यालयका प्रअ अनिल कुमार गुप्ताले बिहान ६ देखि ९ बजेसम्म र बेलुकी ३ बजेदेखि ६ बजेसम्म वीरगञ्जमा नीजि शैक्षिक सस्थामा काम गर्ने गर्नु भएकाले विद्यालयमा पूरा समय दिन नसक्नु भएको एक शिक्षकले नाम नछाप्ने शर्तमा बताउनु भयो । प्रअले वीरगञ्जमा नीजि शैक्षिक संस्थाहरुमा काम गरिरहेको स्वीकार गर्दै आफू रहेको विद्यालयमा बिहान साढे नौ /१० बजेदेखि ३ बजेसम्म रहने गरेको बताउनु भयो । माध्यमिक तहका शिक्षक रहनु भएका प्रअ गुप्ताले कक्षा ७ सम्म मात्र पढाई हुने विद्यालयमा पढाई हुने दिवा सत्रमा कक्षा लिन पाई रहनु भएको छैन । उहाँ खालि प्रशासनिक कार्य मात्र गरिरहनु भएको बताईन्छ । दिवा सत्रमा प्रशासनिक काम हुन्छ तर बिहानी सत्रमा हुँदैन र उहाँ अनुपस्थित रहनु हुन्छ भन्ने प्रश्न चिन्ह खडा भएको छ ।
अभिभावकहरुलाई विद्यार्थीहरुबिच कुनै घटना नहोस् , शैक्षिक क्रियाकलाप सहिरुपमा होस् , विद्यालय सञ्चालन अवधिभर प्रअबाट विद्यालयको गतिबिधि नियन्त्रित होस् भन्ने चाहाना राखेको देखिन्छ । यो चाहाना स्वभाविक पनि हो । कसैलेपनि विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न मिल्दैन र गर्नु पनि हुँदैन त्यसैले गाँऊपालिकाले उपयुक्त कदम चाल्नेछ भन्नेमा अभिभावकहरु विश्वस्त रहेका छन् । यसमा फेटा गाँऊपालिकाका अध्यक्ष रुस्तम अंसारीको ध्यान जान जरुरी देखिन्छ ।