बाढी पीडितका लागि वीरगन्ज उद्योग वाणिज्य संघले दियाे १५ लाख रुपैयाँ

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनः स्थापनाका लागि वीरगन्ज उद्योग वाणिज्य संघले १५ लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको छ ।
संघले साेमबार उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीका कारण रसुवाको स्याप्रुबेसी, टिमुरे तथा नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै संघले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ ।
संघले बाढीबाट जनधनको क्षति व्यहोरेका परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, विभिन्न संघसंस्था तथा आम नागरिकलाई समेत आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघले विगतदेखि नै प्राकृतिक विपद् तथा संकटका समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय तथा सामाजिक कार्यमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुङ्गटा, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव अनुप अग्रवाल, कार्यकारी सचिव सुनिलकुमार कण्ठ र प्रशासकीय अधिकृत मनोज उपाध्याय, पत्रकार प्रणय कुमार लगायतको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर







