शनिबार, २४ जेठ २०८२

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन २० बुँदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सम्मेलनमा देशभरका उपप्रमुख–उपाध्यक्षको सहभागिता थियो।

घोषणापत्रमार्फत उपप्रमुख–उपाध्यक्षहरूले संविधानले प्रत्यायोजन गरेका अधिकारहरूको सुनिश्चितता, न्यायिक समितिको प्रभावकारी कार्यान्वयन, स्थानीय तहको राजस्व अधिकार संरक्षण, योजनाको छनोटमा स्थानीय सहभागिता, र संघीयता सुदृढीकरणमा जोड दिएका छन्।

सम्मेलनको आयोजना विराटनगर महानगरपालिकाले गरेको थियो। सहभागीहरूले उपप्रमुख–उपाध्यक्षको भूमिकालाई अझ सशक्त बनाउँदै संघीयतालाई मजबुत बनाउन प्रतिबद्धता जनाएका छन्।