वीरगञ्ज, साउन १४ गते ।

नेकपा माओवादी केन्द्र पर्साका नेता छोटेलाल यादवले मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पर्सा जिल्लाको सुख्खा प्रभावित क्षेत्रका कृषकलाई सहयोग गर्ने नाममा पुँजीवादी र सक्षम वर्गलाई लाभ दिने कार्य सुरु गरेको भनी कडा आलोचना गर्नु भएको छ ।
मिसन खबरसंग कुरा गर्दै नेता यादवले भन्नुभयो , “सिंचाइका लागि ट्युबवेल तथा बोरिङ जडानमा गरिब तथा साना कृषकहरूलाई पन्छ्याएर आर्थिक रूपमा सबल व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ । यस्तो कार्यले कृषिमा आधारित सहकारी नीतिको उल्लङ्घन भएको छ र साना किसानको हक र अधिकारमाथि खेलवाड गरिएको छ ।”
सरकारले कृषकको हितमा कार्यक्रम ल्याएको भनिए पनि व्यवहारमा ठूला पुँजीवादीलाई मात्र फाइदा पुग्ने गरि विभेदपूर्ण कार्य भइरहेको उहाँले बताउनु भयो ।
उहाँले सिंचाइ सुविधाबाट बञ्चित गरिब किसानहरूका लागि तत्काल निष्पक्ष अनुगमन तथा सुधारात्मक कदम चाल्नुपर्ने माग गर्नुभयो । साथै, उहाँले किसानको नाममा चलाइएका योजनाहरूमा राजनीतिक पहुँचका आधारमा लाभ वितरण भएको आशंका पनि व्यक्त गर्नु भयो ।