दिपकप्रसाद गौतम /
वीरगञ्ज, मंसिर ११ गते ।
जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार यही असोज २८ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा पर्सा जिल्लामा २५ हजार ३ सय ७ जना नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अरुणकुमार ठाकुरका अनुसार जिल्ला निर्वाचन कार्यालयमा प्रत्यक्ष उपस्थित भएर बायोमेट्रिक प्रक्रियाबाट १४ हजार ३ सय १८ जनाले नाम दर्ता गराएभने राष्ट्रिय परिचयपत्रको आधारमा थप १० हजार ९८९ जना अनलाईन मार्फत मतदाता सूचीमा समावेश भएर हुन् ।
जो व्यक्ति जहाँ छ त्यहीको निर्वाचन कार्यालयमा उपस्थित भई बायोमेट्रिक प्रक्रियाबाट नाम दर्ता गर्न सकिने व्यवस्था भएकाले ७ सय २७ जनाले पर्साको वीरगञ्ज स्थित निर्वाचन कार्यालयमा बायोमेट्रिक गरी नाम दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालयमा प्रत्यक्ष उपस्थित भएका नाम दर्ता गराएका १४ हजार ३ सय १८ जना मध्ये ६ हजार ५ सय १५ जना महिला र ७ हजार ८ सय ३ जना पुरुष रहेका छन् । अन्य जिल्लाको लागि अन्य जिल्लाबाट आएर पर्सामै बसोबास गरी रहेका ७ सय २७ जना मध्ये २ सय ८८ जना महिला र ४ सय ३९ जना पुरुष रहेका छन् ।
राष्ट्रिय परिचयपत्रका आधारमा थपिएका मतदाताको लैङ्गिक विवरण भने हाल उपलब्ध नभएको जिल्ला निर्वाचन कार्यालय पर्साका सूचना अधिकारी ठाकुरले जानकारी दिनु भयो ।
कार्तिक १८ गतेसम्मको अद्यावधिक तथ्याङकअनुसार पर्सा जिल्लामा कुल मतदाता ३ लाख ५२ हजार ४८४ रहेका थिए जसमा १ लाख ५८ हजार ८०८ जना पुरुष र १ लाख ५३ हजार ६६१ म्हिला अनि अन्य लिङ्गका १५ जना मतदाता रहेका थिए ।
दोहोरो नामावली, मृतक मतदाता र अन्य जिल्ला सरुवा भएकाहरूको नाम हटाउने काम , राष्ट्रिय परिचयपत्रको आधारमा अनलाईनबाट भर्नेहरुको रुजु गर्ने , नागरिकता परित्याग गर्नेहरुको नाम हटाउने , अन्य जिल्लाबाट यस जिल्लाको लागि मतदातामा नाम दर्ता गराउनेको विवरण यकिन गर्ने जस्ता कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालय पर्साका सूचना अधिकारी ठाकुरले बताउनु भयो ।
मङ्सिर महिनाको अन्त्यसम्ममा नयाँ थपिएका मतदातासहितको अन्तिम मतदाता नामावली सार्वजनिक भईसक्ने उहाँले दाबी गर्नु भयो ।